Saturday, September 29, 2007

Sikkim CM Dr. Pawan Chamling : All Nepali Speaking People of World Get United.


मुख्यमन्त्री चाम्लिंगद्वारा नेपालीभाषीहरुलाई एकजूट हुन आव्हान
-सुजित ढकाल / न्यूयोर्क नेपाली ताईम्स
न्यूयोर्क,सेप्टेम्बर २७,: नेपाली भाषा साहित्यको तीर्थस्थल मानिने भारतीय राज्य सिक्किमका मुख्य मन्त्री डा. पवन कुमार चाम्लिंगले संसारभरका नेपालीभाषीहरुलाई एकजूट हुन आव्हान गर्नु भएको छ।अमेरिका भ्रमणको अन्त्यमा रहनु भएका मुख्य मन्त्री चाम्लिंगले न्यूयोर्कस्थीत नेपाली समूदायका तर्फबाट उहांको सम्मानमा आयोजित भेट्घाट कार्यक्रममा नेपाली समूदाय बिभिन्न जात जातिहरुबाट बनेको स्थितिमा "हामी नेपाली"को साझा भावनाबाट मात्रै बिदेशमा बलियो शक्त्तीको रुपमा अगाडि आउन सकिने बास्तबिकता दर्शाउनु भयो। उंहाले अहिलेसम्म नेपाली जातिलाई अरुको काम गर्ने जातिको रुपमा सबैले हेर्दै आएको अवश्थामा अब नेपालीहरुले पनि नेतृत्वदायी भूमिका निभाउनु पर्ने आवश्यक्तामा जोड दिनु भयो।प्रशान्त तामांगले ईण्डीयन आईड्ल जितेको प्रसंग उल्लेख गर्दै डा. चाम्लिंगले भावुक हुदै भन्नु भयो-"प्रशान्तको स्वरमा भारतीय नेपालीहरुले आफ्नो अस्तित्व खोजिरहेका छ्न।" उहांले आफूले प्रशान्तलाई न्यूयोर्कबाटै बधाई दिएको बताउदैं आफू प्रशान्त लगायत सम्पूर्ण नेपालीभाषीहरुको हितमा लागिरहने दॄढता बयक्त्त गर्नुभयो।आफ्नो अस्तित्वको रक्षा गरिरहेका भारतीय नेपालीभाषीहरुले भानु जयन्ती नेपालमा भन्दा बढी धूमधामले मनाउनु स्वभाविक भएको बताउदै मुख्य मन्त्री चाम्लिंगले भन्नु भयो-" जहां बसेपनि, जहां रहेपनि हामी नेपाली हौं, हाम्रो रगत नेपाली हो"।न्यूयोर्क नेपाली टाईम्सको पहलमा यूनाईटेड किरांत राई अर्गानाईजेसन अफ अमेरिकाद्वारा संयोजन गरिएको सो कार्यक्रम म्यानहाटनको ग्रयाण्ड हयात होटलमा सम्पन्न भएको थियो।कार्यक्रममा अमेरिकी नेपालीहरुका तर्फबाट नेपाली आदिबासी जनजाती महासंघका उपसभापति पूर्ण लिम्बूले मुख्य मन्त्रीलाई माला पहिरयाई अभिन्न्दन गर्नु भएको थियो भने मुख्य मन्त्री चाम्लिंगले सम्पूर्ण सहभागीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा सुजित ढकाल ( न्यूयोर्क नेपाली टाईम्स), केशव राई (यूनाईटेड किरांत राई अर्गानाईजेसन अफ अमेरिका), सुरेश चाम्लिंग (यूनाईटेड किरांत राई अर्गानाईजेसन अफ अमेरिका), पूर्ण लिम्बू (किरांत याक्थूम चुम्लुंग), केशव कुमार तामांग (तामांग सोसाईटी अफ अमेरिका), राम तामांग (तामांग सोसाईटी अफ अमेरिका),शम्भू मोत्तान (तामांग सोसाईटी अफ अमेरिका), मणि बाड०देल (किरांत राई सोसाईटी अफ अमेरिका), बिजय राई (किरांत राई सोसाईटी अफ अमेरिका) र अनील शाही (एलायन्स फर डेमोक्रेसी एण्ड ह्यूमन राईट्स)लगायत बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो।मुख्य मन्त्री चाम्लिंगले त्यस अवसरमा सहभागी नेपालीहरुलाई चिनो स्वरुप सिक्किमबाट ल्याइएका उपहारहरु प्रदान गर्नुभएको थियो भने स्थानीय नेपाली संघ संस्थाका प्रतिनिधीहरुले पनि उहांलाई उपहार प्रदान गरेका थिए।मुख्य मन्त्री चाम्लिंगले अमेरिकी नेपालीहरुको सम्मानमा चियापान कार्यक्रमको पनि आयोजना गर्नु भयो।